पाथीभरामा चार महिनामा ५० लाख भेटी संकलन

0
1346

पूर्वको साक्षात देवीको रुपमा परिचित ताप्लेजुङमा रहेको प्रशिद्ध तिर्थस्थल पाथीभरामा चार महिनाको अवधिमा ५० लाख रुपैंया संकलन भएको छ ।
यो यहाँ आउने तिर्थयात्रीले चढाएको भेटी रकम हो । भारतीय रुपैंया गणना गर्न बाँकि रहेको छभने सुन, चाँदी लगायतको गहना बिक्रि गर्नपनि बाँकि छ ।
सबै सटही गर्दा ६० लाख भन्दा बढी हुने अनुमान पाथीभरा भेटीघाटी व्यवस्थापन समितिको छ । समितिका सदस्य सचिव उदय भट्टराईका अनुसार यो वर्षको साउन देखि कार्तिक मसान्तसम्मको ४९ लाख ६५ हजार ६ सय ५० रुपैंया बैंक खातामा जम्मा गरि सकिएको छ । यो सिजनको गणना सकिएको हो ।

पाथीभरामा दर्शनार्थीले चढाएको पैसा त्यहा कार्यरत कर्मचारीले संकलन गर्ने र प्रत्येक दिन माथिल्लो फेदीमा रहेको अस्थायी प्रहरी चौकिमा ल्याएर राख्ने गरिएको छ । त्यसको चावी प्रहरी र समितिका एकजना कर्मचारीसँग हुन्छ । जिल्ला समन्वय समितिको भवनमा गरिएको गणनास्थलमा सिसि क्यामरा जडान गरिएको छ ।

एक महिनामा सकिएको गणनामा जिल्ला समन्वय समितिका संयोजक घनेन्द्र मादेन, क्षेत्र विकास समितिका पदाधिकारी र कर्मचारी समेत सहभागी थिए । घेटीघाटी व्यवस्थापन गर्नका लागि गणकहरु नै नियुक्त गरिएको थियो । तिर्थयात्रीले चढाएको पैसामा रङ लागेको, कतिपयमा फुलपाती अक्षता पनि टाँसिएको हुने भएकाले त्यसलाई मिलाउन समय लाग्ने भेटि ब्यवस्थापन समितिका सदस्य गोपाल न्यौपाने वताउनुभयो ।
पाथीभरा क्षेत्रमा विशेष गरेर भदौ देखि कात्तिक सम्म र फाल्गुण दोस्रो साता देखि जेठसम्म दर्शनार्थीको घुइचो नै लाग्ने गर्दछ । यो करिव तिन हजार सात सय चौरानब्बे (३७९४ मि) उचाइमा अवस्थित रहेको छ ।