नेपालीहरू विभिन्न तरिकाबाट अमेरिकाको ग्रिन कार्ड लिईरहेका छन्। अमेरिकाको ग्रिन कार्ड (Green Card) अर्थात् कानुनी स्थायी बासिन्दा (Lawful Permanent Resident) हुनेहरू अमेरिकी आप्रवास र नागरिकता सम्बन्धी कानुन अन्तर्गतका आप्रवासी हुन् जसलाई अमेरिकाको कुनै पनि स्थानमा स्थायी रूपमा बसोबास गर्न र काम गर्न अधिकार हुन्छ र निश्चित समय पछि सबै प्रक्रिया पुगेमा यिनीहरूले अमेरिकाको नागरिकताको लागि आवेदन दिन पाउँछन्।
ग्रिन कार्ड हुनेलाई केन्द्रीय सरकारबाट कानुन सम्मत दिइने सुविधा र अन्य अवसरहरू प्राप्त हुन्छन्। ग्रिन कार्ड लिएका नेपालीहरूलाई अमेरिकामा स्थायी रूपमा बस्न र काम गर्न अधिकार छ र उनीहरूलाई अमेरिका प्रवेश गर्दा भिसा लिईरहनु पर्दैन। तर, ग्रिन कार्ड हुनेले केन्द्र सरकारका जागिरहरू (Federal Jobs) गर्न पाउँदैनन्, ग्रिन कार्ड हुनेले अमेरिकाका कुनै पनि निर्वाचनहरूमा उम्मेदवार हुन् वा भोट दिन पाउँदैनन् र ग्रिन कार्ड हुनेले अमेरिकी अदालतमा जुरीको रूपमा सेवा गर्न पाउँदैनन्।
अमेरिकाको ग्रिन कार्ड लिएका नेपालीहरू सबै नेपाली नागरिक हुन् र उनीहरूले अन्तर्राष्ट्रिय रूपमा यात्रा गर्दा नेपाली पासपोर्ट नै प्रयोग गर्नुपर्छ। यसो हुँदा हुँदै पनि विगतका केही वर्षमा हजारौंको सङ्ख्यामा नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड लिईरहेका छन्।
अमेरिका आउने नेपालीहरूको सङ्ख्या सन् १९८० को दशकभन्दा अगाडि नगन्य भएको र तथ्याङ्कहरूको सहज उपलब्धताको आधारमा यस लेखमा सन् १९८६ र त्यस पछिका तथ्याङ्कहरू मात्र समावेश गरिएका छन्। अन्यथा उल्लेख भए बाहेक यस लेखमा समावेश सबै तथ्याङ्कहरूका श्रोत अमेरिकाको गृह मन्त्रालय (U.S. Department of Homeland Security) हो ।
अहिलेसम्म कतिले लिए होलान् अमेरिकाको ग्रिन कार्ड ?
नेपालको अमेरिकासँग सन् १९४७ मा दुई पक्षीय दौत्य सम्बन्ध र सन् १९५९ मा काठमाडौंमा अमेरिकाको राजदूतावासको स्थापना हुनुभन्दा पहिले नेपालबाट अमेरिका आउने नेपालीहरूको सङ्ख्या विरलै थियो। नेपालमा सन् १९५० मा राणा शासनको अन्त्यपछि अमेरिकामा आउने नेपालीहरूको सङ्ख्यामा बिस्तारै वृद्धि हुँदै थियो। तर, सन् १९६० मा प्रजातन्त्रको हत्या पछि यो क्रममा शिथिलता आयो। तर, सन् १९९१ मा नेपालमा प्रजातन्त्रको पुनर्स्थापना र अमेरिकामा सन् १९९० मा तत्कालीन अमेरिकन ४१ औं राष्ट्रपति जर्ज वाल्कर बुस (जसको हालसालै देहावसान भयो) को समयमा पारित डाइभर्सिटी प्रोग्राम (diversity program) पनि भएको अध्यागमन कानुनले सृजित वातावरणले नेपालीहरूको अमेरिकामा आउने क्रम को वृद्धिमा महत्तपूर्ण भूमिका निभायो। त्यस्तै नेपालमा माओवादी आतङ्कबाट सृजित वातावरणले ठूलो सङ्ख्यामा नेपालीले अमेरिकामा शरणार्थी बने र यस माध्यमबाट ठूलो सङ्ख्यामा नेपालीहरूले ग्रिन कार्ड पाए।
प्राप्त तथ्याङ्कबाट के देखिन्छ भने आर्थिक वर्ष १९८६ (October 1, 1985 to September 30, 1986) मा जम्मा ८६ जना नेपालीहरूले अमेरिकाको स्थायी बसोबासको प्रमाणपत्र (ग्रिन कार्ड) लिएका थिए भने आर्थिक वर्ष २००२ मा वार्षिक १,००० भन्दा नेपालीहरूले ग्रिन कार्ड लिए र आर्थिक वर्ष २०११ आउँदा यो सङ्ख्या १०,००० नाघ्यो। आर्थिक वर्ष २०१३ मा ग्रिन कार्ड लिने नेपालीहरूको सङ्ख्या सबभन्दा बढी १३,०४६ पुग्यो र त्यस पछिका वर्षहरूमा ग्रिन कार्ड लिनेको सङ्ख्यामा केही कमी आएको देखिन्छ। आर्थिक वर्ष १९८६ देखि २०१७ सम्ममा महिला र पुरुष गरी जम्मा १२१,६०१ जना नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड प्राप्त गरेको देखिन्छ।
आर्थिक वर्ष २०१७ को अन्त्यसम्म जम्मा १ लाख २१ हजार ६ सय १ नेपालीहरूले अमेरिकाको ग्रिन कार्ड लिएको देखिन्छ भने त्यस मध्ये ३२ हजार ४ सय ८५ नेपालीहरूले अमेरिकाको नागरिकता लिएको देखिन्छ। ग्रिन कार्ड लिएको सङ्ख्याबाट अमेरिकाको नागरिकता लिएको सङ्ख्यालाई घटाउँदा आर्थिक वर्ष २०१७ को अन्तमा जम्मा ८९ हजार १ सय १६ जना सँग अमेरिकाको ग्रिन कार्ड भएको देखिन्छ र जसले गर्दा अमेरिकी नागरिकता लिने नेपालीहरूको सङ्ख्या आगामी वर्षहरूमा अझ बढ्ने निश्चित छ।
छिमेकी देशबाट कतिले लिए ग्रिन कार्ड?
दक्षिण एसियाली सहयोग सङ्गठन अर्थात् सार्क देशहरू मध्ये आर्थिक वर्ष २०१७ मा सबभन्दा धरै जनसंख्या भएको भारतबाट ६० हजार भन्दा बढी र सबभन्दा कम जनसङ्ख्या भएको देश माल्दिसबाट जम्मा ५ जनाले अमेरिकाको ग्रिन कार्ड पाएको देखिन्छ।
भुटान यस्तो देश रह्यो जहाँबाट आर्थिक वर्ष २०१७ मा अमेरिकी ग्रिन कार्ड लिनेभन्दा नागरिकता लिनेको सङ्ख्या बढी थियो। आर्थिक वर्ष २००८ मा जम्मा ४२ जना र २००९ मा जम्मा ५९४ जना भुटानीले अमेरिकाको ग्रिन कार्ड पाएका थिए तर, नेपालमा रहेका भुटानीहरू सन् २००८ देखि अमेरिकामा बसाइ सर्न सुरु गरेपछि यो सङ्ख्यामा निकै वृद्धि भयो।
अमेरिकी ग्रिन कार्ड लिने भुटानीहरूको सङ्ख्या आ. ब. २०१० मा ६,१०९; आ. ब. २०११ मा १०,१३७ र आ. ब. २०१२ मा १०,१९८ पुग्यो र क्रमशः कम हुँदै आ. ब. २०१७ मा जम्मा २,९४० भुटानीहरूले अमेरिकाको ग्रिन कार्ड लिए भने अमेरिकामा बसाइ सरिसकेका भुटानीहरूले ठूलो सङ्ख्यामा अमेरिकाको नागरिकता लिन सुरु गरेको देखिन्छ।