आत्महत्याबारे कुरा गरौं

0
246

डेभिड ब्रुक्स
चैत्र २, २०७५
काठमाडौँ — एज्नेस म्याकिन क्लामथ फल्स, ओरेगनमा बस्छिन् । तीन वर्षअघि उनको १६ वर्षीय छोरा ह्यारिसनले आत्महत्या गरे । ‘ह्यारिसनलाई गुमाउँदा मैले छोरालाई गर्ने मायाको हरेक अंश हरायो,’ उनी भन्छिन्, ‘त्यो प्रेमलाई कतातर्फ मोड्ने भन्ने सोच्नै सकिन । तर ऊ गयो भन्दैमा मैले उसलाई गर्ने माया पनि हरायो भन्ने होइन । ऊ नहुँदा कसरी ऊप्रतिको मेरो माया दर्शाउने भन्ने मैले सिक्नु थियो । त्यसैले अहिले म उसको माया समुदायमा बाँडिरहेकी छु ।’
अहिले उनी समाजमा आत्महत्या कम गर्ने र पीडालाई व्यवस्थापन गर्ने काममा तल्लिन छिन् । विश्वभर आत्महत्याको दर यो शताब्दीमा ३० प्रतिशतले बढेको देखिन्छ । त्यसमा पनि किशोर–किशोरीको आत्महत्या दर दोब्बरले बढेको छ । अमेरिकामा मात्रै वर्षमा ४५ हजारले आत्महत्या गर्छन् ।

तैपनि हामी यो विषयमा खासै बहस गर्दैनौं । हामीले आत्महत्याबारे छलफल गरे त्यस्तै गर्ने सोच पलाएकाहरूलाईथप प्रोत्साहित गर्ने गलत बुझाइ केही व्यक्तिको छ । हामीमध्ये धेरैलाई त के भन्ने र के गर्ने भन्ने पनि थाहै छैन । कसैले निराशाजनक कुरा गरे त्यो व्यक्ति आत्महत्याको संघारमा पुगेको खतरा महसुस गर्न सकिन्छ । कसैले आफू गएपछिको जीवनका बारे मजाक गर्छ, आफूलाई मनपर्ने सामग्रीहरू त्याग गर्न थाल्छ, मृत्युको बारे सोचिरहन्छ, लामो समयको निराशापछि कुनै निर्क्योलमा पुगेझैं एक्कासी चुपचाप रहन्छ भने ती आत्महत्याका संकेत हुन सक्छन् ।
त्यस प्रकारको सोच पलाएका व्यक्तिहरूसँग वादविवाद गर्नु ठिक होइन । ‘जीवनमा तिमीले धेरै गर्न बाँकी छ’ वा ‘तिमीले यस्तो गरे तिमीलाई माया गर्ने वरपरका व्यक्तिको हविगत के हुन्छ, कहिल्यै सोचेका छौ’ जस्ता कुरा त उनीहरूको अगाडि झनै गर्नु हुँदैन । उनीहरूको अगाडि आश्चर्य भाव देखाए, उनीहरूमा थप ग्लानि र लाज पैदा हुन्छ । र त्यो व्यक्तिलाई आत्महत्या नगर्न प्रेरित गर्न झनै कठिन हुन्छ ।
पीडितहरूले सधैं आफ्नो योजनाबारे झुठो बोल्छन् । एउटा अध्ययनका अनुसार आत्महत्या गरेका र ८० प्रतिशतलेआफ्नो ज्यान लिनुअघि आफूमा आत्महत्याको सोच पलाएकोबारे झुठो बोल्छन् । एज्नेसका अनुसार निकट रहेका व्यक्तिले उनीहरूको भावना बुझेको जिकिर गर्नु राम्रो हुन्छ । ‘मलाई थाहा छ, तिमीलाई कस्तो महसुस भइरहेको होला’ भन्ने वाक्यले कुराकानी सुरु गर्न केही सहज बनाउँछ । त्यसपछि सिधै ‘के तिमी आत्महत्याबारे सोच्दैछौ’ भन्ने प्रश्न गर्नु राम्रो हुने उनको सुझाव छ ।
जान्न जरुरी छ– आत्महत्या गर्ने मनसाय बनाएको व्यक्तिले आफूले पीडाबाट पूर्णरूपमा मुक्ति पाउने एकमात्र उपाय त्यही हो भनेर सोचेको हुन्छ । हामीले गर्नसक्ने अर्को काम भनेको उनीहरूको भावनालाई आत्मसात गर्ने हो । आत्महत्या भनेको व्यक्तिको एकैछिनको सोचको भयावह परिणाम हो । कुनै समस्याको दीर्घकालीन समाधानको उपाय पहिल्याउन नसक्नु नै यसको कारक हुन्छ ।
पीडा सत्य हो, तर त्यो सदैव रहन्छ भन्ने ठान्नु भ्रम हो । आत्महत्या गर्ने असफल कोसिस गरेका व्यक्तिहरू पछि आफू असफल भएकोमा खुसी नै हुन्छन् । पीडा अभिव्यक्त गर्ने स्थान पाए उनीहरूले आफ्नो सोचमा परिवर्तन ल्याउन सक्छन् । तसर्थ त्यस्ता व्यक्तिलाई आफ्नो भावनालाई लेखेरै राख्न अभिप्रेरित गर्नु जरुरी हुन्छ । समय बित्दै जाँदा उनीहरू आफैंभित्र निराशा पैदा गराउने आवाजलाई पहिचान गर्न सक्षम हुन्छन् ।
त्यस्तो आवाज दिमागमा भएको रासायनिक गडबडीको नतिजा हुनसक्छ । तसर्थ उनीहरूलाई त्यस्तो आवाज ठूलो भएको बेला जीवनका भावी योजनाबारे विचार लेख्न आग्रह गर्नुपर्छ । उनीहरू कसलाई सम्झन्छन् ? सहयोग माग्न कहाँ जान सक्छन् ? भित्तामा देखिनेगरी टांँगेरराख्न भन्न सकिन्छ । त्यस्ता व्यक्तिको भावनालाई गोप्य राख्छु भनेर कहिल्यै वाचा नगर्नु थप उचित हुन्छ ।
आत्महत्या व्यक्तिगत मात्र नभई सामाजिक समस्या हो । यसबारे बृहत रूपमा सोच्नु जरुरी छ । आत्महत्या गर्नेहरू महिलाभन्दा पुरुष धेरै छन्, विवाहितभन्दा अविवाहित धेरै छन्, ग्रामीणभन्दा सहरी भेगमा बढी छन् ।
यो सामाजिक मूल्य–मान्यताको समस्या पनि हो । आत्मकेन्द्रित संस्कृतिका कारण मानिसहरूमा एक्लोपना बढ्दै गएको छ । उनीहरू एक्लै र अदृश्य रूपमा तड्पिन बाध्य छन् । एज्नेसका अनुसार छोडेर जाने गए पनि पछाडि रहेकाहरूले पनि आफ्नो र समाजका बारेमा सोच्न जरुरी छ । यदि कसैले आफन्तको मृत्युलाई आत्मसात गर्न सकिरहेको छैन भने त्यस्तो व्यक्तिले पनि आफ्नो भावना अरुसँग साट्नु राम्रो हुन्छ । यसबारे उच्चतम ज्ञान भएकाहरूसँग परामर्श गर्नु झनै उचित हुन्छ ।

न्युयोर्क टाइम्सबाट अनुदित ।