नेपाल र दक्षिणपूर्वी एसियाली मुलुक कम्बोडियाबीच द्विपक्षीय हवाई सम्झौतामा हस्ताक्षर भएको छ। दुई देशबीच हवाई सेवा आदानप्रदान गर्न प्रारम्भिक चरणको सम्झौतामा बिहीबार हस्ताक्षर भएको हो।
नेपाल भ्रमणमा आएका कम्बोडियाका प्रधानममन्त्री हुन सेन र प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज काठमाडौंमा दुई देशका नागरिक उड्डयन मन्त्रीले हस्ताक्षर गर्नेछन्।
पर्यटन मन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिस्टर इन्चार्ज अफ द स्टेट सेक्रेट्यारिएट अफ सिभिल एभिएसन माओ हेभेनिलले हस्ताक्षर गरेका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव सुरेश आचार्यले जानकारी दिए।
सम्झौतामा दुई देशका एयरलाइन्सले सातामा १४ वटासम्म उडान गर्न पाउने व्यवस्था गरिएको छ। त्यस्तै कार्गो उडानलाई खुल्ला छाेडिएकाे छ।
१ करोड ६० लाख जनसंख्या भएको कम्बोडियामा ९७ प्रतिशत मानिसले बुद्ध धर्म मान्छन्।
बुद्ध जन्मस्थल लुम्बीनीसँग बौद्धबहुल जनसंख्या भएको कम्बोडियासँग हवाई सम्पर्कबाट जोड्न दुई देशको उत्तिकै चासो भएकाले सम्झौता भएकाे आचार्यको भनाइ छ।
यो प्रारम्भिक चराणको सम्झौता भएको उनको भनाइ छ। अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले निर्धारण गरेका मापदण्डभित्र रहेरै सम्झौताको व्यवस्था गरिएको उनको भनाइ छ।
सम्झौतामा कोड सेयरिङको सुविधा दुबै देशका एयरलाइन्सले पाउने व्यवस्था गरिएको छ। कम्बोडियामा ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल रहेका छन्। सम्झौताअनुसार त्यहाँका तीनवटै विमानस्थल नेपालको काठमाडौं र बाहिर बन्ने विमानस्थलबाट दुई देशबीच हवाई सेवा आदानप्रदान गर्ने बाटो खुल्ला भएको छ।